१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

नेपालको स्वास्थ्य क्षेत्रका अथक सारथि डा आर्ने 


२८ भाद्र २०८०, बिहिबार  

0
Shares

काठमाडौं– तपाईं यस्तो व्यक्तिको कल्पना गर्नुहोस् जो यो माटोको (नेपालको) मुल बासिन्दा होइनन् तर यसको चिन्ता भने तपार्इंको जत्तिकै गर्छन्। आफ्नो व्यस्त समय तालिकाबाट केही समय निकालेर नेपालका बारेमा पुस्तकहरू लेख्छन् र यहाँका कथाहरु सांसरभरिकालाई पढाउँछन्।

साथै, उक्त पुस्तकहरुको बिक्रीबाट आएको रकम नेपालकै स्वास्थ्य सेवाको पूर्वाधार सुधारका लागि खर्चिन्छन्। तपाईं यस्तो व्यक्तिको कल्पना गर्नुहोस् कि जसले नेपालको दुर्गम भागका स्वास्थ्य क्षेत्रको सुधारको हैंसेमा अद्वितीय रुपमा होस्टे गरिरहेका छन्। 

ती व्यक्ति हुन्, जर्मन नागरिक डा आर्ने ड्र्युज। छाती रोग (पल्मोनोलोजिस्ट) विशेषज्ञ डा आर्ने जर्मनीको राजधानी बर्लिनबाट करिब २ घण्टाको मोटर दूरीमा रहेको ग्रिमा गाउँका स्थानीयबासी हुन्। उनको नेपालसँगको सम्बन्ध भने ३१ वर्ष अघिदेखि निरन्तर रहिआएको छ। नेपालमा पहिलो पटक पाइला राखेदेखि नै उनले नेपालको जनस्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिइरहेका छन्। र, त्यस महान कार्यमा थप योगदान पु¥याउन सम्भावित सबै उपाय खोजिरहेका छन्। 

५३ वर्षीय डा आर्ने आफ्नो पहिलो नेपाल यात्राको स्मृतिमा पुग्छन्। उनलाई नेपालसम्म ल्याउने माध्यम पुस्तक नै थियो। उनका बुवाको पुस्ताकलयमा हेनरिक ह्याररको ‘सेभेन इयर्स इन तिब्बत’ भन्ने पुस्तक थियो। जसको कभर पृष्ठमा ठूला–ठूला पहेँला टोपी (ह्याट) लगाएका भिक्षुहरूका तस्बिर थिए। बालक आर्ने तिनै तस्बिर हेरेर हिमालको यात्रा गर्ने कल्पना गर्थे। ‘म सधैँ ती भिक्षुहरूको भूमि हिमालय जाने सपना देख्थें,’ आफ्नो बाल सपनालाई कोट्याउँदै ग्रिमाबाट डा आर्नेले नेपाल लाइभसँग भने। 

डा आर्नेको सपनाले सन् १९८९ बाट गति लियो। जब बर्लिन वालले विभाजित दुई जर्मन (पूर्वी जर्मनी र पश्चिम जर्मनी) वाल भत्केसँगै एक बन्यो। त्यसपछि जर्मनहरुले संसारभरिको यात्रा गर्न पाए। तत्कालीन पूर्वी जर्मनीका डा आर्नेले पनि त्यसपछि बेलयात हुँदै अमेरिकाको भ्रमण गरे। र, त्यसपछि नेपाल आइपुगे। 

‘मलाई हिमालय र ती भिक्षुहरू हेर्न मन थियो। तर सन् १९९२ मा काठमाडौंमा उत्रेपछि नेपालमा हिमालय र भिक्षुहरूभन्दा पनि धेरै कुरा देखेँ। मलाई लाग्यो कि यहाँ धेरै कुराहरु गर्न सकिन्छ,’ काठमाडौं उत्रिएपछिको स्मृतिमा पुग्छन् उनी। 

काठमाडौंमा रहँदा उनी बागबजारस्थित मोडेल अस्पताल पुगे, जहाँ नेपालको स्वास्थ्य सेवाको तस्बिर देखे। अस्पतालमा आवश्यक सेवा र जनशक्तिको अभाव थियो। ‘राजधानीको केन्द्रमा रहेको अस्पताल यस्तो छ भने राजधानी बाहिरका विशेषगरी देशका दुर्गम क्षेत्रमा रहेका अस्पतालको अवस्था कस्तो होला ?,’ डा आर्नेले सोचे र निर्णय गरे– नेपालका ग्रामीण क्षेत्रका अस्पतालको अवस्था सुधार्न सक्दो प्रयास गर्नेछु।

त्यसैले उनले सन् २००० मा नेपालमेड फाउन्डेसन नामको एनजीओ स्थापना गरे। यसको उद्देश्य थियो, स्वास्थ्य सेवामा रेहका नेपाली संस्थाहरुलाई सहयोग गर्नु। यसका प्रशाखा (च्याप्टर) हरु पनि छन्। जस्तो, नेपालमेड यूके र नेपालमेड जर्मनी, जहाँबाट केही रकम संकलन गरेर नेपालमेड नेपाललाई पठाउने गर्छन्। नेपालमा भने उक्त रकम यहाँका अस्पतालहरुको आवश्यकताका आधारमा प्रयोग हुन्छ। 

त्यसयता डा आर्नेले आफ्नो आधा मन र दिमाग नेपाललाई समर्पित गरिरहेका छन्। यद्यपि, उनले जर्मनीमा चिकित्सा अभ्यास जारी राखेका छन्। 

नेपालमेडद्वारा सहयोग पुर्‍याइएका अस्पतालहरूमा उल्लेखनीय परिवर्तनहरु देखापरेका छन्। जसको ज्वलन्त उदाहरण हो, गोरखा जिल्लाको सरकारी अस्पताल आँपपीपल अस्पताल। यस अस्पतालको आम्दानीको मुख्य स्रोत भनेकै उपचारवापत उठ्ने सेवाशुल्क र नेपालमेडबाट उपलब्ध हुने चन्दा सहयोग हो। नेपालमेडसँगको सहकार्यमा धेरै पूर्वाधार परियोजना कार्यान्वयनमा आएका छन्। नेपालमेडकै सहयोगमा वरपरका गाउँबाट अस्पतालसम्म जोड्ने सडकहरु निर्माण भएका छन्। जसका कारण जिल्लाका विभिन्न स्थानका बिरामीले अस्पताल पुग्न र उपचार पाउन सहज भएको छ। ‘अन्यथा, बिरामीहरूलाई डोकोमा बोकेर लैजानु पर्नेरहेछ। केही मानिसहरू त अस्पताल पनि पुग्न नसक्ने अवस्था बन्दोरहेछ,’ ग्रामीण इलाकाका दुःखबारे डा आर्ने व्याख्या गर्छन्। 

डा आर्ने नेतृत्वको नेपालमेडको पहलबाट हासिल भएको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको स्वास्थ्य बीमा योजना हो। यो योजनाको सुरुवातीतिर मानिसहरुलाई सरकारी स्वास्थ्य बीमा योजनामा सहभागी गराउन सजिलो नभएको डा आर्नेको अनुभव छ। त्यसैले नेपालमेडले आँपपिपल अस्पतालका कर्मचारीलाई पहिलो वर्षको प्रिमियम तिरिदिएर बीमा कार्यक्रमको सुरुवात गरेको थियो। जसबाट प्राप्त लाभ अन्यत्र पनि फैलिएको थियो। मानिसहरूले बीमाको महत्वबारे जानकार हुन थालेपछि सो कार्यक्रममा सहभागी हुनेको मात्रा बढेको डा आर्नेको निचोड छ। ‘अहिले आँपपिपल अस्पतालको ओपीडीमा आउने ९० प्रतिशतभन्दा बढी बिरामीहरुसँग स्वास्थ्य बीमा हुन्छ। यो नेपालको लागि उल्लेखनीय उपलब्धि हो,’ उनी भन्छन्, ‘पहिले हामीले उनीहरुलाई सहयोग गरेका थियौं। अहिले उनीहरुले स्वास्थ्य बीमाको महत्व बुझेका छन्।’

डा आर्ने नेपालका गरिब जनतालाई स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा एउटा कडी हुने विश्वास गर्छन्। ‘मलाई आसा छ, गोरखामा विस्तार भएको बीमा कार्यक्रमको महत्वको सन्देश अन्य जिल्लाहरूमा पनि फैलिनेछ। बीमाले स्वास्थ्य उपचारको लागि बिरामीहरुको गोजीको खर्च कम गर्छ। साथै, गरिबी घटाउन योगदान पु¥याउँछ भने कोही पनि पैसा नभएर उपचारबाट बञ्चित हुनु पर्दैन,’ डा आर्ने भन्छन्, ‘मलाई लाग्छ, स्वास्थ्य बीमाले धेरै समस्याको समाधान गर्न सक्छ।’

नेपालमेडले सहयोग पु¥याउने क्षेत्रहरूमध्ये स्वास्थ्य पूर्वाधार एक हो। नेपालमेडले अस्पतालहरूलाई अक्सिजन प्लान्ट, सर्जिकल उपकरण, एक्स–रे, सीटी स्क्यानर, अल्ट्रासाउण्ड र अन्य अत्यावश्यक उपकरण खरिद गर्न रकम उपलब्ध गराउँछ। ‘विश्वका विभिन्न भागबाट संकलन गरिएको रकम नेपालमेडमार्फत पानी फिल्टर, सौर्य ऊर्जा र तातो पानी बनाउने, फोहोर प्रशोधन गर्ने औजार स्थापना गर्न सहयोग पु¥याउने गरिएको छ। हामी चिकित्साको गुणस्तर सुधारमा पनि काम गर्छौँ। जस्तैः नयाँ स्वास्थ्य केन्द्रहरूको स्थापना, अस्पतालमा नयाँ वार्डहरूको विस्तार गर्ने र एम्बुलेन्स खरिद गर्छौँ,’ डा आर्ने भन्छन्, ‘हामी हाम्रा नेपाली सहकर्मीहरूलाई गुणस्तर सुधारका लागि सहयोग गर्छौँ।’

नेपालमेडले नेपालका विभिन्न अस्पतालहरूमा तालिम प्रदान गर्न विशेषज्ञहरुलाई पठाउने गर्छ। उदाहरणका लागि, सन् २०१२ देखि कीर्तिपुरस्थित बर्न अस्पतालमा न्यूरोलोजिस्ट, बाल रोग विशेषज्ञ र दन्त चिकित्सकहरू पुगेर त्यहाँका सहकर्मी माझ ज्ञान आदानप्रदान गर्ने गरेका छन्। नेपालमेडले समय–समयमा मेडिकल सम्बन्धी विभिन्न कोर्सहरु प्रदान गर्ने र मेडिकल सम्मेलनको पनि आयोजना गर्ने गरेको डा आर्ने बताउँछन्।  

डा आर्ने नेपाल श्वासप्रश्वास समाजका संस्थापक सदस्य समेत हुन्। उनी २०२३ को अप्रिलमा काठमाडौंमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताको रुपमा सहभागी भएका थिए। त्यसो त, पछिल्ला १५ वर्षमा डा आर्नेले अछामदेखि धरानसम्मका विभिन्न स्थानमा ‘स्पाइरोमेट्री’ सम्बन्धीका कक्षाहरु प्रदान गरेका छन्। 

सोलुखुम्बु र ओखलढुंगाका केही स्वास्थ्य केन्द्रहरूमा नेपालमेडले फार्मेसीहरू बनाइदिएको छ। यसका साथै, भवनहरुको निर्माण, स्वास्थ्य उपकरणहरु खरिद, सफा पानीका लागि फिल्टरहरुको जडानका कार्यमा मद्दत गरिरहेको छ। यसका अलावा, उक्त फाउन्डेसनले सो क्षेत्रका विद्यालयहरुमा छात्रा–छात्रको लागि शौचालय निर्माणका साथै विद्यालयको भान्सा सुधारमा समेत सहयोग पुर्‍याउँदै आएको छ।

डा आर्ने एक दक्ष चिकित्सक त हुन् नै, राम्रा लेखक पनि हुन्। उनले सन् २०१७ मा ‘हिमालय गोल्डः अ नेपाल डिटेक्टिभ स्टोरी’ नामको पुस्तक प्रकाशित गरेका छन्। त्यसपछि ‘मनसुन’  र ‘डेमोन्स’ सहित डा आर्नेले तीन पुस्तक प्रकाशित गरेका छन्। यी तीनै पुस्तक नेपाली भाषामा पनि प्रकाशित भएका छन्। 

डा आर्ने उक्त पुस्तकहरु बेचेर आएको रकम नेपालकै स्वास्थ्य क्षेत्रमा खर्चिने बताउँछन्। ‘पुस्तकहरु प्रकाशित गर्नुको उद्देश्य भनेको नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनु हो,’ डा आर्ने भन्छन्, ‘पुस्तक बिक्रीबाट आएको पैसा नेपालमेडमा जान्छ, जसले नेपालका दुर्गम क्षेत्रका स्वास्थ्य सेवा सुधार गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ।’
उनी आफ्नो लेखनबारे थप प्रष्ट पार्दै भन्छन्, ‘एक प्रकारले पैसाका लागि नै लेखिएको हो। म जर्मनीबाट पैसा उठाउनका लागि यी कथाहरु लेख्छु र उठेको पैसा नेपालमेडलाई पठाउँछु।’ 

डा आर्नेले आफ्ना पुस्तकमा नेपालमा देखेका कथाहरु उतारेका छन्। उनले आफ्नो पुस्तक मनसुनमा तराईका कमलरीहरुको कथा लेखेका छन्, जो जमिनदारलाई बेचिन्छन्। ‘नेपालमा सधैँ सत्य कथाहरू हुन्छन्। पुस्तकहरुले विदेशी आगन्तुकलाई वास्तविक कथाहरू बताउँछन्। यसले नेपाललाई विश्वभरि चिनाउँछ,’ डा आर्ने आफ्ना रचनाको गर्भमा पुग्छन्। 

विगत २३ वर्षदेखि नेपालमेडमार्फत नेपाललाई सहयोग गर्दै आएका डा आर्ने आफ्नो पहलकदमीले नेपालका अस्पतालहरुको अवस्था परिवर्तन भएको देख्दा खुसी छन्। ‘म नेपाली भाषा जान्दिनँ, जसका कारण नेपालीमाझ आफ्नो खुसी व्यक्त गर्न सक्दिनँ। नेपालीहरु पनि अंग्रेजी बोल्न नसक्ने भएकोले मलाई केही भन्न सक्दैनन्। तर हामी मौनभावमा सञ्चार (संवाद) गर्छौँ। जसको माध्यमबाट मेरा खुसीहरु व्यक्त गर्छु। मैले जसरी उनीहरूलाई मद्दत गर्न सकेको छु, त्यसवापत उनीहरूले मप्रति अपार माया, सम्मान र कृतज्ञता दर्शाउँछन्,’ डा आर्ने अनुभूत गर्छन्, ‘यो आनन्द (सन्तुष्टि)लाई संसारका केही कुराले पनि खण्डित गर्न सक्दैन।’

यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा डा आर्नेको  योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ५ : २० बजे


©2024 Health Sansar सर्वाधिकार सुरक्षित