१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

औषधि व्यवसायी संघको अध्यक्षका उम्मेदवार खण्डेलवाल भन्छन्- व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छु


२८ भाद्र २०८०, बिहिबार  

0
Shares

आगामी भदौ २२ र २३ गते नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेसन वीरगञ्जमा हुँदैछ। संघको अध्यक्ष पदमा ४५ वर्षदेखि औषधि व्यवसायको क्षेत्रमा काम गर्दै आएका प्रकाश कुमार खण्डेलवालले पनि उम्मेदवारी दिएका छन्। स्वास्थ्यखबरले खण्डेलवालसँग उनका चुनावी एजेण्डाबारे कुराकानी गरेका छौ। प्रस्तुत छ खण्डेलवालसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेपाल औषधि व्यवसायी संघको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदैछ?
म अध्यक्षको उम्मेदवार भएको हुनाले मेरो टाउकोमा अहिले चार किसिमको काम छ। पहिलो कुरा आफ्नो लागि भोट माग्नुपर्‍यो।  दोस्रो आफ्नो व्यापार पनि हेर्नुपर्‍यो। महाधिवेशन वीरगञ्जमा हुने भएकाले व्यवस्थापनको काम पनि गर्नुपर्‍यो। महाधिवेसको लागि आर्थिक स्रोत व्यवस्थापनको काम पनि गर्नुपर्ने अवस्था छ। बिहान ६ बजे मर्निङवाक सकाएपछि  बिहान ७ बजेदेखि राती ११ बजेसम्म महाधिवेशनकै काममा व्यस्त भइरहेको छु। 

अध्यक्ष पदमा किन उम्मेदवारी दिँदै हुनुहुन्छ? तपाईंका अजेण्डा के-के छन्?
म केन्द्रमै लागेको १८ वर्ष भइसक्यो। आजसम्म जति कुराहरुमा समस्या छ ती कुराहरु टिमसँग मिलेर गर्नसक्ने कुरा गरें। अब गर्न नसकिएका कुराहरुलाई म अध्यक्ष भएर पुरा गर्ने मेरो योजना छ। यो पटक म अध्यक्ष भएँ भने धेरै काम गर्न सक्छु।

औषधि क्षेत्रको सशक्त र विशाल संस्थाको रुपमा औषधि व्यवसायी संघलाई पुनर्स्थापित गर्ने मेरो प्रमुख उद्धेश्य रहेको छ। नेपाल औषधि व्यवसायी संघको गौरवपूर्ण विरासत कायम राख्न संघलाई नेतृत्व प्रदान गर्नेछु। सबै अट्ने, सबै खट्ने केन्द्रीय नेतृत्वको निर्माण मेरो पहिलो प्राथमिकता हो। कसैलाई पनि निषेध गर्ने, पक्ष र विपक्ष गर्ने मेरो वैयक्तिक स्वभाव पनि नभएकोले सक्षमलाई छानेर केन्द्रीय नेतृत्व र विषयगत समितिहरुलाई पूर्णता दिनेछु। आर्थिक स्वावलम्वनका कार्यक्रमहरुको सञ्चालन गर्नेछु।

संघका सबै तहका कार्यालयहरुको सञ्चालन खर्चलाई व्यवस्थापन गर्न आर्थिक स्वावलम्वनका कार्यक्रमहरु निर्वाचित भएको पहिलो महिनाबाटै सुरु गर्नेछु। निर्वाचित भएको १ महिनाभित्र एनओसी नियमावलीको समयसापेक्ष संशोधन र कठोर कार्यान्वयन गर्नेछु। सोध भर्ना नियमावलीलाई समयसापेक्ष बनाई यसै नियमावलीको व्यवहारिक कार्यान्वयनमार्फत व्यवसायीले भोग्नुपरेको  समस्या समाधान गर्न पहल गर्नेछु।  औषधि उत्पादक कम्पनीहरु, औषधि व्यवस्था विभाग, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संस्थाहरुको सहयोगमा सबै तहका नेतृत्व र व्यवसायीहरुको लागि क्षमता अभिवृद्धि एवं नेतृत्व विकासको लागि तालिम कार्यक्रमका योजना ल्याउनेछु। 

पछिल्लो समय औषधि पसलमा पनि विभिन्न समस्या छ। यो समस्या समाधानका लागि तपाईंको भूमिका के हुन्छ?
अहिले औषधि व्यवसायमा भइरहेका समस्या निराकरण गर्नका लागि मेरो प्रयास रहन्छ।  स्वास्थ्यमन्त्रीले छापा मार्दै हिड्नुभयो।  खासमा उहाँले प्रणाली बसाल्ने हो। एकदिन छापा मारेर गाली गरेर मात्र सुधार हुने कुरा होइन।  कति पसलमा छापा मार्ने?  खासमा औषधि व्यवसायलाई व्यवस्थित गर्न प्रणाली बसाल्नुपर्छ। प्रणालीमा सञ्चालित भएपछि समस्या पनि आफै देखिन्छ। सोही अनुसार समाधान खोज्नुपर्छ। 

हरेक समस्याको समाधन सम्भव छ। औषधिको क्षेत्रमा देखिएका समस्याहरुको पनि समाधान सम्भव छ। अहिले औषधि नविकरणका लागि औषधि व्यवस्था विभागमै पुग्नुपर्ने अवस्था छ। दुर्गम जिल्लाको औषधि  व्यवसायीलाई औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर नविकरण गर्न झन्झटिलो छ। आउन जान ५ दिनसम्म समय लाग्छ, नविकरणको दस्तुर बुझाउन पर्छ।  औषधि व्यवसाय नविकरणको लागि नै धेरै खर्च भइरहेको हुन्छ।  त्यसैले नविकरणको अविध नै कम्तिमा ५ वर्ष बनाउनुपर्छ। अनलाइन मार्फत पनि औषधि व्यवसाय नविकरण गर्ने व्यवस्था गरिनुपर्छ। म संघको अध्यक्ष भएपछि यी समस्याहरुको समाधानका लागि पनि प्रयास गर्नेछु।

अहिले जति औषधि पसलहरु छन् त्यहीँ नै फर्मासिष्ट नै छैनन्। फर्मासिष्टको जनशक्ति बढाउने विषयमा यहाँको योजना भूमिका के रहन्छ?
यो गर्नैपर्ने काम छ। अहिले २६ हजार औषधि पसल छन्। तर २६ हजार फर्मासिष्ट छैनन्।   धेरै फार्मेसीहरु फर्मासिष्ट बिना, तालिम लिएका जनशक्ति बिना चलिरहेका छन्। दुर्गममा त झनै समस्या छ। यसलाई समाधान गर्न स्थानीय सरकारलाई पनि यो विषयमा बुझाउन आवश्यक छ। 

अन्त्यमा, तपाईं आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ?
औषधि व्यवसाय मेरो पुर्खौली व्यवसाय पनि हो। हामी गौरमा बस्थ्यौ।  गौरमा बस्दा हाम्रो हजुरबुबाको खुद्रा पसल थियो। अहिलेजस्तो धेरै औषधि नै हुँदैन थियो। ६५ वर्ष पुरानो औषधि पसल अहिले पनि छ। त्यो पसलमा मेरो हजुर बुबा बस्नुभयो। त्यसपछि बुबा, काका हुँदै म बसेँ। अहिले मेरो छोरा  काम गर्दैछ।  औषधि व्यवसायमा हामी ४ पुस्ताको लगानी र समय छ।  मैले औषधिको आयात, खुद्रा, थोक व्यापार देखि सबै काम गरेको अनुभव छ। म यो काम अहिले पनि गरिरहेको छु।  मलाई यो क्षेत्रको हरेक समस्याहरु थाहा छ। म आफै ४५ वर्षदेखि औषधि व्यवसायमा संलग्न भएकाले पनि मलाई समस्या सँगै यी समस्याहरुको समाधान पनि थाहा छ।  समस्या समाधान गर्ने मेरो  इच्छा पनि छ। त्यसैले म औषधि व्यवसायी संघको अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु। 

म आफ्नो अध्यक्ष पदमा निर्वाचित भएपछि मेरा एजेण्डाको आधारमा आफ्नो कार्यकाल भर काम गर्ने छु। त्यसैले सबैले मलाई आफ्नो मत दिनुहोला भन्न चाहन्छु।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ५ : २८ बजे


©2024 Health Sansar सर्वाधिकार सुरक्षित