१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बालरक्षक डाक्टरबर्दियामा विशेषज्ञ सेवा दिइरहेका डा विश्वनाथलाई हेल्थ अवार्ड


२८ भाद्र २०८०, बिहिबार  

0
Shares

बर्दिया- जिल्ला अस्पताल बर्दिया लुम्बिनी प्रदेशमै राम्रो काम गरिरहेको अस्पतालमा पर्छ। अस्पताललाई लिएर सरकारी प्रणालीले गर्ने सूचीमा पहिलो÷दोस्रोमै पर्ने गरेको छ यो अस्पताल। अस्पतालले समग्र सेवामै राम्रो गरिरहेको छ। त्यसमा पनि बाल रोगमा विशेषज्ञ सेवा उपलब्ध भएका कारण त्यहाँका धेरै शिशु जोगिएका छन्। 

बाल रोग विशेषज्ञका रुपमा कार्यरत डा विश्वनाथ शाह जो जिल्लाकै एक मात्र बाल रोग विशेषज्ञ हुन्। त्यसैले बच्चालाई केही समस्या भयो कि जिल्लाबासीको दिमागमा आउने नाम भएको छ, डा विश्वनाथ।

उनको नाम त्यहाँ निर्विकल्प भएर मात्रै चलेको होइन, उनले दिने सेवाबाट सन्तुष्ट भएका कारण पनि बिरामीको चाप हरेक दिन बढ्दो अवस्थामा रहेको हो। अस्पतालमा जुनसुकै बेला पुगे पनि डा शाह बिरामीबाट घेरिएका हुन्छन्। डा शाह बाल रोग पढेर यहाँ नफर्किंदासम्म ‘लेभल २’ भन्दा माथिको समस्याको उपचारका लागि बिरामीहरु जिल्ला बाहिर रिफर गर्ने गरेको अस्पताल प्रमुख डा शुभाष पाण्डेय बताउँछन्।

‘अहिले बेडको अभावका कारण फर्काउनु परेको होला तर अधिकांश समस्याको उपचार हामी अस्पतालमै गर्छौं,’ डा पाण्डेयले भने। विशेषगरी धेरै बिरामी बाँकेको नेपालगञ्ज र कोहलपुर पुग्थे। उनी आइपुगेपछि त्यो बाध्यता समेत हटेको छ। 

डा शाहमा बिरामीका लागि खट्ने स्वभावले यो सम्भव भएको पाण्डेय बताउँछन्। बिरामीलाई उनले यति निकटस्थ ठान्छन् कि दुई वर्षदेखि बिदा समेत लिन सकिरहेका छैनन्। अति जरुरी पर्दा यो दुई वर्षमा जम्मा दुई पटक बिदा लिएका छन्। स्वास्थ्यखबरकर्मी उनको कार्यकक्षमा पुगेर कुरा गरिरहँदा उनी भनिरहेका थिए, ‘बिरामीको चाप देखिहाल्नु भयो। बाल रोग विषेशज्ञ एक्लै छु, एनआईसीयूमा नवजात शिशु भर्ना हुन्छन्। उनीहरुलाई छाडेर कसरी जाउँ ?’ 

निरन्तर निगरानीमा राखेर जोगाउनुपर्ने नवजात शिशु र इमर्जेन्सीमा आइपुग्ने अवोध बालबालिकाहरुको सेवालाई आत्मसात गरिसकेका उनले तालिमहरुमा सहभागिता समेत न्यून गरेका छन्। त्यसैमाथि उनले यहाँ दिएका केही सेवाले उनीप्रतिको विश्वास बढेको छ। बिरामीका आफन्तहरुले उनीसँग नै उपचार गराउने अड्डी कस्छन्। सीमित स्रोत र साधन रहेको अस्पतालमा डा शाहले केही त्यस्ता जटिल बिरामीहरुलाई सकुशल बनाएका छन्, जसले उनको क्षमता र कामप्रतिको लगनशिलता झल्काउँछ। 

२०७९ साल चैत १५ गतेको एउटा घटना त्यसैमध्ये पर्छ। गुलरिया नगरपालिका–३ की सुशीला गोडिया गोडिया २९ हप्ताकी गर्भवती थिइन्। गर्भमा दुई वटा बच्चा रहेको अस्पतालको रिपोर्टबाट देखियो तर त्यसमध्ये एउटाको पेटमै मृत्यु भइसकेको थियो। अर्काे बच्चा सकुशल जन्माउने प्रयास प्रसूति विभाग चिकित्सकले गरे। प्रसूति समयभन्दा दुई महिनाअघि नै जन्माइएको उक्त शिशु जोगाउन डा शाहले निकै मिहिनेत गरे। निश्चित स्रोत र साधनमा आफ्नो दक्षताको प्रयोग यसरी गरे कि ३७औं दिनमा ती शिशुलाई सकुशल आमाको काखमा राखिदिए। सन्तानको झन्डै–झन्डै आशा मारिसकेकी गोडियाले डा शाहकै अघि आँखाबाट आँसु झारिन्। यस्तै खुसीका आँसुले आफूलाई कामका लागि प्रेरित गरिरहने डा शाह बताउँछन्। 

बर्दिया अस्पताल आर्थिक रुपमा कमजोरहरुको भरोसाको केन्द्र बनिरहेकै छ। बाल रोगमा त अन्य निजी अस्पतालबाट आशा मारेकाहरु समेत यहाँ पु¥याएर निको भएका उदाहरण छन्। एकपल्ट उनले यही अस्पतालमा २९ हप्तामै जन्मिएको जम्मा १.५ किलोको बच्चालाई समेत निको पारेर ३८औं दिनमा आफन्तको जिम्मा लगाएका छन्। गुलरिया नगरपालिका–५, बालापुरकी कैलासपति थारुको परिवारले आशा नै मारिसकेको बच्चालाई सकुशल पाएका हुन्।

कम तौलको समय नपुगी जन्मिएको बच्चाको सुरुमा कुनै निजी अस्पतालको एनआईसीयूमा राखेर उपचार गरिएको थियो। त्यहाँ न बच्चाको स्वास्थ्यमा सुधार देखियो, न त्यो भन्दा बढी उनीहरुको आर्थिक अवस्थाले धान्ने भयो। उनीहरु निराश भएर घर फर्किए। उनीहरुका छिमेकीले सुझाए, ‘एकपल्ट बर्दिया अस्पताल लिएर जाऊ। त्यहाँ डा शाह छन्। उनले बचाउन सक्छन्।’ त्यही सल्लाह मानेर उनीकहाँ आइपुगेको थारु दम्पतीलाई उनले खुसी सहित घर फर्काउन सफल भए। 

सर्पले टोकेर अस्पताल ल्याइएका बाँसगढी नगरपालिका–११ तोरैयाका दुई वर्षीय आरबिन थारुको केस पनि डा शाहमाथि भरोसा जगाउनेमध्येमै पर्छ। २०७८ साल असोज ४ गते सर्पले टोकेपछि अस्पताल पु¥याइएका ती बालकलाई ४८ घण्टा भेन्टिलेटरमा राखेर बाल रोग विषेशज्ञ डा शाहले जोगाउन सफल भएका थिए।
सीमित स्रोत–साधनको उपलब्धता भए पनि आफूले पढेर जानेको विद्या भित्री मनबाट प्रयोग गर्दा जस पाइने गरेको डा शाह बताउँछन्। ‘उपचार गरेर पूर्ण रुपले निको बनाई डिस्चार्ज गर्दाको क्षण अत्यन्तै अविस्मरणीय हुन्छ। आसा मारिसकेको नवजात शिशुको सफल उपचार गरेर डिस्चार्ज गर्दा अभिभावकहरुको अनुहारमा देखिएको चमकले झन् ऊर्जा मिल्छ,’ डा शाहले भने। 

उनी विशेषज्ञ भएर आउनुअघि अस्पतालले बालबालिकाको उपचारका लागि स्रोतहरु जुटाएको थियो। उनले त्यसैलाई प्रयोग गरे। पहिलेदेखि नै त्यहाँ नवजात शिशुको उपचार सेवा भए पनि लेभल– २ का बिरामी रिफर हुन्थे। उनी आएपछि त्यहीँको स्रोत–साधन प्रयोग गरेर थप सेवा दिए। आर्थिक वर्ष २०७९÷०८० मा एसएनसीयू वार्डमा राखेर ४ सय २० नवजात शिशुको उपचार गरिएको तथ्यांक उनी प्रस्तुत गर्छन्।

डा शाहको निगरानीमा कम तौलका, महिना नपुगेर जन्मिएका, जन्मिने बेला निस्सासिएका, नवजात बच्चाहरुमा देखिने जन्डिस, जन्मिने बेला दिसा खाएका लगायतलाई उपचार गरेका छन्। ओपीडी, इन्डोर र इमेर्जेन्सी गरी दैनिक ७० बढी बिरामी हेर्नुपरेको उनी बताउँछन्। उनले भने, ‘बिरामीको बढ्दो चाप हेरेर बालरोगका लागि छुट्टै कक्ष सञ्चालनको तयारी समेत गरिरहेका छौं।’

डा शाह बाल रोग विशेषज्ञका रुपमा दुई वर्षदेखि कार्यरत छन्। तर यस अस्पतालसँग उनको साइनो जोडिएको १० वर्ष पूरा भइसकेको छ। २०७० सालमा मेडिकल अधिकृतका रुपमा उनी जोडिएका हुन्। २०७२ सालमा लोक सेवाबाट नाम निकाल्न सफल भएपछि रुकुम जिल्लाको कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरे। फेरि उनी बर्दिया अस्पतालमै फर्किए। मेडिकल अफिसरका रुपमा तीन वर्ष काम गरेपछि विशेषज्ञता हासिल गर्न उनी शिक्षण अस्पताल काठमाडौं आइपुगे। तीन वर्षको पढाइ पूरा गरेपछि फेरि बर्दिया नै फर्किए।

त्यहीँ रहनुको कारणबारे उनी भन्छन्, ‘गुलरिया सानो शहर हो, ठूलो शहरका अस्पतालमा जान कसलाई रहर हुँदैन। तर  सबै त्यहीँ केन्द्रित हुँदा यहाँ कसले सेवा दिन्छ ?’ यही भावनाले उनलाई बिरामीमाझ लोकप्रिय बनाइरहेको छ। 
अस्पतालकै क्वाटरमा बस्ने उनी बिरामीका लागि हरदम हाजिर हुने डाक्टरमा पर्छन्। त्यही कारणले गर्दा बर्दियाबासी ढुक्क भएर रात–बिरात पनि बालबालिकाको उपचारको लागि अस्पताल पुग्छन्। उनीसँग आफ्नो बच्चाको उपचार गर्न जिल्ला सदरमुकाम गुलरियादेखि ३५ देखि ४० किलोमिटर टाढा राजापुर र गेरुवा गाउँपालिकाबाट समेत आउने गरेका छन्। 

बाँकेको नेपालगञ्जको आदर्शनगर–१० मा जन्मे–हुर्केका उनी बुवाको प्रेरणाले चिकित्सातर्फ लागेका हुन्। डा शाहका बुवा बिन्देश्वर शाह आयुर्वेद चिकित्सक थिए। त्यही कारण उनी सानैदेखि यतातिर प्रभावित भएको बताउँछन्। 
उनी उपचारका साथै जनचेतनामुलक कार्यक्रम समेच चलाउने गर्छन्। किनभने, बर्दियामा कुपोषणको समस्या छ। यसको उपचारका लागि बिरामी आइरहन्छन्। ‘बच्चाका अभिभावकहरुलाई खाना, खोप सम्बन्धी परामर्श र कम तौल भएका बच्चाको तौल बढाउन परामर्श दिने गरेका छौं,’ उनले भने। 

यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा विश्वनाथको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ५ : २१ बजे


©2024 Health Sansar सर्वाधिकार सुरक्षित