१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कार्डियाक नर्स भएर तातो मुटु बोकेको त्यो क्षण…


२८ भाद्र २०८०, बिहिबार  

0
Shares

इक्मो अर्थात् एक्स्ट्राकोरपोरियल मेम्ब्रैन अक्सिजनेसनबाट डीस्कनेक्ट गरि सर्जनले तात्तातो मुटु मेरो हातमा राख्दा नर्सिङ विधामा सगरमाथा आरोहण गरेझैं लाग्यो। मेडिकल साइन्सको सर्वोत्तम उपलब्धी छोएझैँ आज मेरो हातमा प्लाटिनमको गहना राखे झैँ लग्यो।  मेरा नर्सिङ सहकर्मीहरु भन्दाको उच्च पदाधिकारी भएको अहम जस्तो भयो।   शायद त्यो पलको खुसी कुनै शब्दमा व्यक्त गर्न नै सक्दिन, किनकि यो खुसी मेरो पछिल्लो सत्र सालदेखिको मेहनत थियो। नर्सिङ प्रवेश गरेदेखिको मेरो सपना हर्ट ट्रान्स्प्लान्टमा कार्डियाक नर्स भएर काम गर्ने सफल भएको थियो।  मेरा रसाएका आँखाबाट आँसु झर्न नपाउँदै म वास्तविकतामा फर्किन पुगेँ।

एसिस्टेन्ट सर्जनले मेरो हात अगाडीबाट अर्को मुटु सर्जन तिर बढ़ाएको क्षण।  पृष्ठभूमिमा माईकल ज्याक्सनको दिस प्लेस होटेल, हर्ट ब्रेक होटेल संगीत मधुरो धुनमा गुन्जिदै थियो। डा सेट्टी, कार्डियाक सर्जन जटिल शल्यक्रियामा सुचर गर्ने बेलामा प्रायः ध्यान केन्द्रित गर्न ब्याकग्राउन्ड म्युजीक बजाउन लगाउनुहुन्थ्यो।  मैले पुनः त्यो अर्को हातको मुटु हेरेँ, चिप्लो, रातो टल्किने छाला, रगत बग्न बन्द भएपनि भर्खर रगत बग्ला झैँ देखिने खाईलाग्दो मुटु, लगभग ३ घण्टा पहिले २१ वर्षे नवजवानको छातीभित्र ढुकढुक गरिराथ्यो होला।  मेरो हात हेरेँ अनावश्यक रुपमा फैलिएको, चारैतिर पहेलो बोसोले पुरिएको कडा घाउ भएको जस्तो मुटु। मानव शरीरबाट झिकेको अहिले तीन मिनेट हुन पाएको छैन।

जस्तो कि वर्षौदेखि थकित थिए मेरा हातका मुटु। पछिल्लो छ महिनादेखि म निरन्तर नारायना हृदयालय अस्पताल, बंगलोरको शल्यक्रिया कक्षमा सक्रिय थिएँ। यस अवधिमा कैयौं मुटु हेरेको थिएँ। तर यस्तो मिश्रित भावना कहिल्यै आएन।  आज हृदय प्रत्यारोपणमा मेरो पहिलो दिन थियो। म आत्तिएको होइन तर ६० वर्षीय वृद्धलाई  २१ वर्षीय युवाले हृदय दान गरेको कुरा अलि असहज भएको हो मलाई।  उक्त युवाको मोटर साईकल दुर्घटना भएर मृत्यु भएको हो।  

वक्रतुंड महाकाय भनेर चिनिने गणेश भगवानमा प्रथम सफल अंग प्रत्यारोपण गरिएको गणेश पुराण तथा पौराणिक कथाहरुमा उपलब्ध छ।  आधुनिक मानव इतिहासमा भने सन् १९५४ मा प्रथम पटक मिर्गौला प्रत्यारोपण सफलता पुर्वक गरिएको थियो भने कलेजो, मुटु र प्यान्क्रियाज १९६० को अन्त्यतिर सुरु भएको हो। सन् १९६७ मा लुइस वाश्कानसकी को ५३ वर्षको उमेरमा डा क्रिस्चियन बर्नार्डले प्रथम पटक मानव-मानवबीच मुटु प्रत्यारोपण गरेका हुन्।   

आपतकालीन वार्डको पछिल्लो ढोकासँगै टाँसिएको भुइतल्लामा ओटीको अर्कोतिर सिटीभीएस आईसीयू र ट्रांस्प्लान्ट युनिट छ। आइसीयूमा अन्य आइसीयू भन्दा खासै भिन्न नभएनि  ट्रांस्प्लान्ट युनिट भने अलि फरक छ। झट्ट हेर्दा दुईवटा सिसाको ढोका भएको कोठा देखिए पनि यो कोठा डबल प्रोटेक्सनको लागि बनाएको हो।  जहाँ भित्र मिनी आइसीयू र इमरजेन्सीका सम्पूर्ण कन्डिसनमा राखिएको हुन्छन्।  यस युनिटभित्र ट्रांस्प्लान्ट टिमका पोस्टअप नर्स, डायलाइसीस टेक्निसियन र कार्डियाक सर्जन बाहेक अरु सबै जान बन्चित थिए।  अरु कुनै कामको लागि टेलीकम्युनिकेसनले सम्पर्क गरिन्थ्यो। कार्डियाक ओटीभित्र प्रयोगमा आउने अन्य विशेष उपकरणहरुमा इक्मो, हर्ट-लंग मसिन/कार्डियो पल्मोनरी बाईपास मेसिन, इन्ट्रा-एओर्टिक बैलुन पम्पथेरापी, माईक्रोस्कोप जस्तो आधुनिक मेडिकल मेसिनहरु प्रयोगमा ल्याइन्छ। कार्डियाक स्क्रब नर्सको लागि प्रमुख चुनौती भनेको सर्जरीको बेला प्रयोग हुने इन्स्ट्रुमेन्ट्सहरु याद गर्नु, मिलाएर राख्नु र सर्जनलाई आवस्यकता अनुसार माग्नुपुर्व उपलब्ध गराउनु हो।  सामान्य अप्रेसनमा हुने औजार सँगसंँगै म्याक्रोसेट र माइक्रोसेट मिलाएर राख्नुपर्ने हुन्छ।  म्याक्रो सेटमा हुने औजारहरुमा  कैंची, फोर्सेपस, भास्कुलर कैंची, फोर्सेपस, डाइसेक्टिङ कैंची, डाईथर्मी फोरसेप्स, लिगेचर क्लाम्प्स, बुलडग क्लाम्प्स, भास्कुलर क्लाम्प्स, माईक्रो निडल होल्डर र सुचर, नर्भहुक ईत्यादी पर्छ।  प्रायः दुईवटा ठूलो ओटीट्रली तयार गर्नुपर्ने हुन्छ। जसमा तीन फेजको समान तयारी गर्नुपर्ने हुन्छ।  पहिले थोरासिस एरिया खोल्नलाई, दोस्रो पुरानो मुटु हटाउने र तेस्रो फेज नयाँ मुटु प्रत्यारोपण गरि थोरासिस  रिजनलाई बन्द गर्न।  

पच्पन्न वर्ष भन्दा मुनिको  बिरामी जसमा कुनै किसिमको मुटु सम्बन्धी समस्या नभएको तर पूर्णरुपले प्रतिक्रियाबिहिन तथा कुनै पनि सहज क्रिया देखाउन असमर्थ हुने बिरामीको मुटु दान गर्न सकिन्छ। हर्ट डोनर कुनै दुर्घटनाबाट वा लामो समयसँग मृत्युलाई पर्खिराखेका मष्तिस्क मरेको अवस्था वा ब्रेन डेथ भएको अवस्थामा हुन्छन।  मृत्यु भईसकेको प्रमाण पाएपछि २ मि ग्रा हेपरिन/वजन नशामा सुई दिईन्छ। छातीलाई खोलेर मुटु काट्ने प्रक्रिया तिर गईन्छ।  एओर्टालाई काट्दा कोरोनरी ओस्टिया भन्दामाथि र पल्मोनरी भल्भको गोलाईबाट पल्मोनरी आर्टरी काटिन्छ।  एट्रियोभेण्ट्रिकुलर ग्रुभबाट काटेर भेण्ट्रिकल र एट्रियालाई छुट्याइन्छ।  यसरी काटीसकेको मुटुलाई अंग राख्ने भाँडोमा एचटीके पदार्थसँग चिसो बरफ/आईसमा राखिन्छ र अंग पाउने ओटीतिर लगिन्छ।  एचटीके पदार्थ र चिसो बरफले कार्डियोप्लेजिया अर्थात् मुटुलाई केही समयको लागि प्यारालाइसिस गर्दिन्छ र यसरी मुटुलाई ४-६ घण्टासम्म सुरक्षित राखिन्छ।  लगभग उही समयमा उता मुटु पाउने बिरामीलाई पनि उस्तै प्रक्रियाले छाती खोलिन्छ सटरनमलाई बीचबाट काटिन्छ जसमा हामीले थाईमस ग्रन्थि, फोक्सो, मुटु र रक्तनलीहरु हेर्न सक्छौ। अबको पालो बिमार मुटुलाई हटाई नयाँ मुटुलाई प्रतिस्थापन गर्ने। देब्रे र दाहिने एट्रियाको आधारलाई पहिलेदेखि नै नयाँ मुटु जोड्ने हिसाबले अलग गरिन्छ। देब्रे एट्रियलको भित्तालाई चारवटा पल्मोनरी भेनसँगै र दाहिने एट्रियल भने इन्फ़ेरिअर र सुपेरियर भेनाकाभाको ओरिफिस तिर काटिन्छ।  पुरानो मुटुलाई निकाली नयाँ मुटु पेरिकर्डिअल खाल्डोभित्र राखिन्छ।  कार्डियोप्लेजिया गरेको नयाँ मुटुलाई बिरामीको पेरिकर्डिअलमा एनस्टोमोसिस गर्नुपर्ने हुन्छ। यो प्रक्रिया जटिल, खतरनाक क्षण हो।  

माइक्रो उपकरणले संवेदनसिल अंगलाई सिलाउनु कुनै सामान्य काम होइन यदि कुनै जोड्ने ठाउँ मिलेन भने पहिले त भेन कोलाप्स हुने खतरा बढ्छ। अर्कोतिर इन्टरनल रक्तस्राप हुने अर्को समस्या हुन सक्छ।  प्रथम एनस्टोमोसिस देब्रे एट्रियमको लंग डबल आर्म्ड रनिङ ३-० पोलिप्रोपईलिन सुचरले गरिन्छ।  दोश्रोमा पल्मोनरी आर्टरी र  तेस्रोमा एओर्टालाई डबल आर्म्ड ४-० पोलिप्रोपईलिन सुचरले रनिङ फेसनले जोडिन्छ।  चौथोमा इन्फेरियर र पाँचौमा सुपेरिअर भेनाकाभालाई एनस्टोमोसिस गरिन्छ। त्यसपश्चात क्रस क्लाम्प खोलिन्छ, नयाँ मुटुमा फेरि रक्तसंचार सुचारु हुन्छ। र यसरी अन्य विधिहरुसँगै स्टर्नम र छातीलाई बन्द गरिन्छ।  प्रायः नजोट्रकियल ट्युबद्वारा मेकानिकल भेण्टिलेसन बिरामीलाई राखिन्छ।  चेस्ट एक्स रे, ईसीजी आर्टियल र भेनस प्रेसर, युरिन ओउतपुत  र पेरिफेरल सर्कुलेसन सबै मिलेपछि बल्ल पोस्टअप रुममा लगिन्छ। डोनर हर्टलाई दुई पद्धतिबाट प्रत्यारोपण गरिन्छ। माथिको तरिकालाई अर्थोटोपिक ट्रन्स्प्लनट भनिन्छ।  अर्को हेटेरोटोपिक जसमा रेसीपीन्ट र डोनर दुवैको मुटु बिरामीको शरीरभित्र रहिरहन्छ।  

कार्डियक आउट्पुट कम हुनु, ल्युकोसाइतको संख्या बढ्नु, मुटुका मांशपेशीहरुमा तनाव भएको इन्जाइमको मात्रा शरीरमा बढ्नु, आरवेभ ईसीजीमा असामान्य देखिनु यी सब नयाँ मुटुलाई बिरामीको शरीरले स्वीकार्न नसकेर रिजेक्ट गरेको बुझिन्छ।  रिजेक्ट तीन समयमा हुनसक्छ, हाइपरएक्युट (मिनेट देखि केहि घण्टा सम्म), एक्युट (केही हप्तादेखि एक वर्षभित्र) र क्रोनिक रिजेक्सन (एक वर्षभन्दा बढी समयमा)।  पोस्ट अप पिरियडमा कार्डियाक नर्सको लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुनेगर्छ।  पहिलो कुरो रिजेक्सन म्यानेजमेन्ट गर्नु, जसको लागि पहिलो १४ दिनमा र त्यसपछि ४-४ महिनामा जुगुलर भेनबाट बायोप्सी गर्ने, प्रतिरोधात्मक क्षमताको विरुद्धमा इम्मुनोस्प्रेसिभ् औषधि चलाउने। यदि मुटु दुख्ने समस्याहरु भए सीएबिजी वा एञ्जियोप्लास्टि वा पुन: मुटु प्रत्यापन गर्नुपर्ने हुन सक्छ।  अन्य ध्यान दिनुपर्ने कुराहरुमा रक्ताश्राब हुनबाट बचाउने, हाइपोभोलेमिया तथा हर्टफेल जस्तो समस्या समाधान गर्ने, संक्रमणबाट बिरामीलाई सक्दो बचाउने कोशिष गर्नुपर्ने हुन्छ।  

मुटुलाई स्वस्थ राख्नदेखि रोग लाग्न नदिन कार्डियाक नर्सिङको प्रमुख भुमिका हुन्छ।  यदि बिरामी भएर अस्पतालमा भर्ना नै भएपनि गुणस्तरीय सेवा दिनु प्रत्येक नर्सको कर्तब्य हो।  मुटुको मृत्युपछि जीवन नै अन्त्य हुने तितो यथार्थको बीचमा मुटु प्रत्यारोपण उपचार पद्धति भनेको यमराजसँग लडेर जीवनदान दिने मिठो सम्भावना हो। आधुनिक पद्धति र मेडिकल साइन्सको चुनौतीहरु मध्येको एउटा चुनौतीपूर्ण प्रणाली मुटु प्रत्यारोपणको टिममा काम गर्नु अनुभव मेरा दुई चार शब्दले वर्णन गर्न सक्दिन। तर ओटीबाट निस्किदा बिरामीको आफन्तहरुको चिसो आँखामा आफ्नो अनुहार सम्झिँदा अझ मन सिरिङ्ग हुन्।  हर्सोल्लाहको उक्त उमंगमा म सम्झिने गर्छु मेरो आफन्तलाई मुटु प्रत्यारोपण गर्नु परे म  मेरै देशमा यसरी नै सेवा गर्न कहिले पाउने त?

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ५ : २४ बजे


©2024 Health Sansar सर्वाधिकार सुरक्षित